हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

कमरेड तुल्सीलालको धैर्यबाट सिकौँ

कृष्णराज बर्मा/ विचार/विश्लेषण - September 21, 2016
Krishna Raj Barma

सन्दर्भ : १९ औँ तुल्सीलाल स्मृति दिवस

कमरेड तुल्सीलाल अमात्य नेपाल कम्युनिष्ट आन्दोलनको कहिल्यै नबिर्सने नाम हो । प्रजातन्त्रको स्थापना तथा पुनर्बहालीका आन्दोलनहरूमा जहिले पनि उहाँको महत्वपूर्ण भूमिका रहेको छ । यो कुरा २००७ सालमा मोतिहारी जेल यात्रा, २०१७ सालपछि भारत प्रवास तथा ०४२ व ०४६ सालमा भएका प्रजातन्त्र पुनर्बहालीका आन्दोलनमा उहाँको प्रत्यक्ष संलग्नताले देखाउँछ ।

उहाँ शोषित पीडित जनताको संघर्षप्रति बढी आकर्षित रहने र आफ्नो साधारण र सरल जीवनशैलीले गर्दा उनीहरूबीच पुग्न सरल भएकोले ००७ सालमा किसान मजदूर संगठनको स्थापना गर्नुभएको थियो । त्यसैको परिणामस्वरूप वहाँसहित चार जनालाई भारत सरकारको मोतिहारी जेलमा थुनेको थियो । उहाँसँग त्यसबेला साक्षात्कार नभए पनि हामीले त्यस संगठनको पर्चा रक्सौलबाट संकलन गरी राजविराजमा वितरण गरेका थियौं । सायद, कम्युनिष्ट क्रियाकलापको पहिलो थालनी पनि यही नै थियो ।

वहाँको सरल जीवन, जनसाधारणसँग घुलमिल गर्न सक्ने स्वभावले गर्दा वहाँलाई ग्रामीण जनसाधारणकाबीच आदर्श नेतृत्वको रूपमा स्वीकार्य गरायो । आफूसँग मत–मतान्तर भएका नेताहरूसँग पुनः सामञ्जस्य गर्न उहाँ जहिले पनि तयार देखिनुहुन्थ्यो । तर उहाँले आफ्नो निजी सोचाइप्रतिको कट्टरताले गर्दा विभिन्न समयमा अलग संगठन बनाउन वा आफ्नै नेतृत्वमा संंगठनलाई स्थायित्व दिन बढी दृढ रहँदै आउनु भयो ।

हामीले एउटै पार्टीको नेतृत्वमा बसेर पनि काम गर्‍यौं । अलग–अलग संगठन बनाई एकअर्कामाथी आक्रामक भएर पनि काम गर्‍यौं । प्रवासबाट मुलुकभित्र आएपछि मुलुकमा प्रजातन्त्रको पुनःस्थापनाको आन्दोलनमा र कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने प्रश्नमा हाम्रा मतहरू समान रहे । हामीले एकताबद्ध प्रयास पनि गर्‍यौं । खासगरी ०४२ र ०४६ का आन्दोलनमा काँध मिलाएर लड्यौं । वहाँ कहिल्यै पनि स्थीर पूर्वाग्रह राख्ने व्यक्तिको रूपमा देखिनु भएन ।

मुलुकभित्र र प्रवासमा रहँदासमेत आफ्नो विचारका लागि सहनुभएको कष्टकर जीवनले उहाँलाई निष्ठावान नेताको रूपमा प्रस्तुत गरेको छ । यसले उहाँको व्यक्तित्वलाई सरल तथा चरित्रवान बनाएको छ । आफ्नै जीवनको कठिन अवस्थामा पार्टी जीवनको उतार–चढावका बेला उहाँले देखाउनु भएको धैर्यले उहाँको व्यक्तित्वलाई एउटा निखार दिएको छ । देश सेवामा लागेका कुनै पनि राजनैतिक कार्यकर्ताहरूको लागि यो अनुकरणीय आदर्श रहेको छ ।

कमरेड तुल्सीलाल अमात्यको असामयिक निधन मुलुकको लागि अपूरणीय क्षति हो । वहाँको नाम कम्युनिष्ट आन्दोलनको लागि एउटा प्रतिक हो । र, यस आन्दोलनका केही अविष्मरणीय नामहरूमध्ये एक हो । हामी सबै उहाँको सरल स्वाभाव र चरित्रबाट प्रभावित रहेका छौं । पार्टी जीवनमा आएका उतार–चढाव र आफ्ना कष्टप्रद जीवनमा वहाँले देखाउनुभएको धैर्यबाट हामी सबै प्रभावित रहेका छौैं ।
Caption
म एउटा निकटतम मित्र र सहयात्रीको नाताले उहाँको अभावमा अति दुःखी छु । उहाँको शोक–सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु । मैले थाहा पाएसम्म उहाँकी श्रीमतीको महत्वपूर्ण योगदान छ । नेकपा (एमाले)ले उचित सम्मान प्रकट गरी कमरेड अमात्यप्रति सही श्रद्धाञ्जली प्रकट गर्ने नै छ ।

हामीले प्रजातन्त्रका योद्धा, कम्युनिष्ट आन्दोलनका अविस्मरणीय व्यक्तित्व तथा बुद्ध र गीताको दर्शनमा माक्र्सवादको समर्थनका लागि तर्क खोज्ने एउटा ठूलो अन्वेषक गुमाएका छौं । उहाँ जस्तो निष्कपट योद्धाप्रति शतशत अभिवादन ।
‘अविश्रान्त राजनायक’ बाट साभार गरिएको । प्रकाशन मिति २०५४ असोज १६ गते ।