हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

सुगन्धित फूल जस्तै निश्चल र निष्कपट व्यक्तित्व

रघु पन्त/ विचार/विश्लेषण - September 7, 2016
raghu-panta

सन्दर्भ : १९ औँ तुल्सीलाल स्मृति दिवस

तुल्सीलाल अमात्यको सबैभन्दा विशिष्ट कुरो मलाई उहाँको निश्चलता लाग्थ्यो । निष्कपट, सरल र मनभित्र जे छ बाहिर पनि त्यहीँ देखाउने तुल्सीलाल अमात्य उमेर एवं शरीरले वृद्ध देखिए पनि आफ्नो निश्चलताका कारणले उहाँ भर्खरको बालक जस्तो स्वच्छ र प्रिय लाग्नु हुन्थ्यो । अहँकार भनेको पटक्कै नभएको, छक्का पञ्जा गर्दै नगर्ने र आफ्नो स्वाभिमानको लागि कहिल्यै नझुक्ने स्वभाव तुल्सीलाल अमात्यका थप विशिष्टताहरू हुन् । स्वभाव र तौर–तरिका हेर्दा उहाँ साँच्चै ‘त्यागी सन्यासी’ जस्तो लाग्नु हुन्थ्यो । जसलाई  दुनियाँको कुनै पनि चीजको मोह छैन । वितरागी जस्तो देखिनु हुन्थ्यो उहाँ– स्वार्थ, द्वन्द्व र छलकपटबाट निकै टाढा पुगेको ।

अध्ययन गर्न र लेख्न रुचाउने तुल्सीलालाले माक्र्सवादलाई पनि नेपाली विशिष्टता, पूर्वीय चिन्तन र मान्यताका आधारहरूलाई अधि सारेर व्याख्या एवं पुष्टि गर्न खोज्नुभयो । उहाँले माक्र्सवादी चिन्तनलाई व्याख्या गर्दा बुद्धकालीन कथा, गीता, हाम्रा पौराणिक कथा र जीवन शैलीलाई आधार बनाएर पनि व्याख्या गर्दै माक्र्सवादी चिन्तनको बैज्ञानिकतालाई देखाउन खोज्नुभयो ।

हामी कहाँ माक्र्सवादको व्याख्या गर्दा वा माक्र्सवादी चिन्तनमा आधारित लेखहरू लेख्दा माक्र्स, एञ्गेल्स, लेनिन स्टालिन र माओत्से तुङका भनाईहरू जथाभावी ढंगले पंक्ति उद्धृत गरेर आफ्ना कुराहरूलाई पुष्टि गर्न खोज्ने चलन अहिले पनि छ । सन्दर्भ र परिस्थिति नमिल्ने ठाउँमा पनि आफ्ना कुतर्क र जिद्दिहरूलाई पुष्टि गर्न कतिपय वामपन्थी नेताहरू अहिले पनि माक्र्सदेखि माओसम्मका भनाईहरूलाई गलत तरिकाले उद्धृत गर्दै आफूलाई सही ठहर्‍याउने प्रयत्न गर्छन् ।

तुल्सीलालको शैली यस्तो रहेन । उहाँ आफूले बुझेको माक्र्सवादको सारतत्वलाई नेपाली विशिष्टतामा लिएर निष्कर्ष दिने प्रयत्न गर्नुहुन्थ्यो र आफूलाई लागेको कुरो स्पष्ट भन्ने गर्नुहुन्थ्यो । जीवनभर अध्ययनशील रहनुभयो तुल्सीलाल अमात्य । तर आफ्नो अध्ययनशीलताको प्रदर्शन गर्न कहिल्यै रुचाउनु भएन ।

Tulsi lal Captionविद्वता र अध्ययनको घमण्ड देखाउने र माक्र्स, एञ्गेल्सका भनाईहरूलाई भाषण गर्दा जस्तो पायो उस्तै ढङ्गले उद्धृत गर्दै श्रोतालाई आफ्नो भाषणले थिच्न खोज्ने प्रवत्ति तुल्सीलालमा रहेन । उहाँ सरल र सरस शैलीमा स्पष्टवादी तरिकाले बोलेर श्रोताहरूसँग सम्वाद कायम गर्नुहुन्थ्यो ।

झ्वाट्ट हेर्दा पहिलो नजरमा तुल्सीलालको व्यक्तित्व आकर्षक र मान्छे तान्ने लाग्दैनथ्यो । तर उहाँसँग संगत गर्दै गएपछि भने उहाँ आफ्नो निष्कपटता र सरलताको कारणले प्रिय एवं आदरणीय लाग्न थाल्नुहुन्थ्यो । राजनीतिको छलकपटको पनि बिटुल्याउन नसकेको र जालझेल गर्न पटक्कै नजान्ने स्पष्टवादी उहाँ जस्तो निर्मल हृदय भएको नेता नेपाली कम्युनिष्ट आन्दोलनमा अर्को कोही थिएन र हुन पनि गार्‍हो छ भविष्यमा ।

आफ्नो मान्यता, विश्वास र विचारमा अविचल रूपले अड्ने क्षमता तुल्सीलाल अमात्यमा थियो । त्यही क्षमताले गर्दा जीवनमा जस्तो सुकै कठिनाई र पीडाहरूको सामना गर्नुपर्दा पनि उहाँ पछि हट्नु भएन । दुःखलाई स्वाभाविक र सरल रूपले सामना गरेरै जीवनपर्यन्त आफ्नो स्वाभिमानी शीर ठाडो पारेर उहाँ बाँच्नुभयो । मृत्युपछि आज जब तुल्सीलाल अमात्यलाई सम्झिरहेका छौं भने हामीले उहाँबाट सिक्नुपर्ने केही कुराहरूलाई पनि सम्झिनै पर्ने हुन्छ ।

राजनीतिमा हिजोआज हामी त्याग, तपस्या, मूल्य मान्यताभन्दा पनि धेरै छलकपट, जालझेल, गुटबन्दी र षड्यन्त्र प्रभावकारी भएको अनुभव गरिरहेका छौं । यसले गर्दा मुलुकका सबैजसो पार्टीको राजनीति लथालिङ्ग भएको छ र नेताहरूबीच आपसमा गुटबन्दी, बेमेल र वितृष्णा बढिरहेको छ । तुल्सीलाल जस्तै सरल, सहज र निष्कपट अरू नेताहरू पनि हुने हो भने गुटबन्दी कम हुन सक्छ ।

विभिन्न राजनीतिक पार्टीहरूमा बेमेल र गुटबन्दी बढ्नुको एउटा कारण नेताहरूको अहँकार र तँभन्दा म के कम भन्ने प्रवत्ति पनि हो । फलानोलाई मैले किन टेर्ने भन्ने जस्ता अहँकारयुत्त अभिव्यक्तिहरू एउटा नेताले अर्को नेताविरुद्ध प्रयोग गरेको पटक–पटक सुन्न पाइन्छ । व्यक्तित्वको द्वन्द्व र तँछाड–मछाडले गर्दा गुटबन्दी र षड्यन्त्र बढ्न थालेको छ । राम्रा र इमान्दार मान्छेहरू पछाडि पर्न थालेका छन् भने छट्टु प्रवृत्ति भएकाहरूले मौका पाउन थालेका छन् । तुल्सीलालको जस्तो अहँकारविहीन हुने हो भने अहिले विभिन्न पार्टीहरूमा देखिएका कतिपय द्वन्द्वहरू स्वतः कम भएर जानेछन् ।

तुल्सीलाल अमात्यबाट हामीले सिक्नैपर्ने कुरा त उहाँको निश्चलता र निष्कपट स्वभाव हो । निश्चलता एवं निष्कपटता जान्ने वा सिक्नेभन्दा पनि ज्यादा स्वभावजन्य कुरो हो शायद । तर पनि उहाँको निर्दोष बालकको जस्तो निश्चलताबाट हामीले थोरै पनि सक्यौं भने हाम्रो आफ्नै मन धेरै सफा हुने थियो ।

आफूलाई गीताबाट केही प्रभावित भएको भन्ने तुल्सीलाल अमात्य साँचो अर्थमा कर्तव्य पालन गरिरहने निष्काम कर्मयोगी हुनुहुन्थ्यो । जनताको लागि राजनीति गर्दा उहाँ आजीवन कर्मयोगी नै रहनुभयो र आफ्नो लागि केही खोज्दै वा केही माग्दै हिँड्नुभएन । त्यसैले नै जनताले उहाँलाई अत्यन्त धेरै आदर र सम्मान दिए ।

यात्रामा नथाकेर निरन्तर हिँडिरहने त्यस्तो यात्रु हुनुहुन्थ्यो तुल्सीलाल अमात्य, जो केवल गन्तव्यमा पुगेर मात्र रोकिन्छ । पथका जस्तासुकै अप्ठ्याराहरूलाई पनि सामना गर्दै हिँडिरहने पथिक हुनुहुन्थ्यो तुल्सीलाल अमात्य । जो पथको अन्तिम टुङ्गोसम्म निरन्तर हिँडेर पुगेर मात्र रोकिन्छ । राजनीतिको मैदानमा लक्ष्यप्रति समर्पित अविराम योद्धा हुनुहुन्थ्यो – तुल्सीलाल अमात्य ।

यात्रामा नथाकेर निरन्तर हिँडिरहने त्यस्तो यात्रु हुनुहुन्थ्यो तुल्सीलाल अमात्य, जो केवल गन्तव्यमा पुगेर मात्र रोकिन्छ । पथका जस्तासुकै अप्ठ्याराहरूलाई पनि सामना गर्दै हिँडिरहने पथिक हुनुहुन्थ्यो तुल्सीलाल अमात्य । जो पथको अन्तिम टुङ्गोसम्म निरन्तर हिँडेर पुगेर मात्र रोकिन्छ । राजनीतिको मैदानमा लक्ष्यप्रति समर्पित अविराम योद्धा हुनुहुन्थ्यो – तुल्सीलाल अमात्य ।

त्यसैले उहाँबाट हामीले निरन्तरता, अविचलता, समर्पण र निरन्तर सक्रियताका गुणहरू जो उहाँमा विधमान थिए, ती गुणहरु सिक्नुपर्दछ । तुल्सीलाल अमात्यप्रति शब्दहरूका अनेकौं विशेषण मात्र चढाएर केही हुँदैन, यदि उहाँका विशिष्टता र गुणहरूबाट हामी थोरै भए पनि सिक्ने प्रयन्त गर्दैनौं भने ।

जीवनको उत्तराद्र्धतिर तुल्सीलाल अमात्य अझ बढी शान्त र सुमधुर लाग्नुहुन्थ्यो । अत्यन्त सहज र सरल ढङ्गबाट प्रत्येक कुरालाई लिनसक्ने खुबी तुल्सीलालमा थियो । उहाँको मृत्यु पनि उहाँको छेउमा अत्यन्त सरल र सहज ढङ्गले आयो । जीवनलाई सहज रूपले भोग्दा भोग्दै कसैलाई अलिकति आशङ्कासम्म पनि नदिएर मृत्यु उहाँको छेउमा आयो र टपक्क उहाँलाई टिपेर लग्यो । हामी सबै हेरेको हेर्‍यै भयौं ।

धर्तिमा फुल्ने प्रत्येक फूल एक पटक झर्छन् – झर्छन् । सुगन्धित फूलहरू फुल्छन् र आफ्नो सुगन्धले मानिसहरूलाई मोहित पार्छन् । झरेर गइसकेपछि पनि ती फूलहरूको सुगन्ध यतै हावामा कतै मगमगाइरहेको हुन्छ । तुल्सीलाल अमात्य त्यस्तै एउटा सुगन्धित फूल हुनुहुन्थ्यो । उहाँको शरीर नरहे पनि उहाँको गुणरूपी सुगन्ध हामीबीच अझै मगमगाइरहेको छ । अमात्यका गुणहरूबाट केही सिक्नु नै उहाँप्रति साँचो श्रद्धाञ्जली हुनेछ । के हामी यसको लागि तयार छौं ?
‘अविश्रान्त राजनायक’ बाट साभार गरिएको । प्रकाशन मिति २०५४ असोज १६ गते ।