हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

वागमतीसहित विभिन्न नदीहरूको सरसफाई जारी

इन्फोनेपाल संवाददाता/ मेरो नेपाल सफा नेपाल - September 4, 2016
1460174660095_NN-KTM-Bagmatio sarsafai abiyan

काठमाडौं, भाद्र १९
वागमती सरसफाई महाअभियानको १७३ औँ हप्ता शनिबार पनि टेकु पुलमुनिको वागमती क्षेत्रमा सफाई गरी ११ मेट्रिक टन फोहर निकालिएको छ । निजामती कर्मचारी दिवसको उपलक्ष्यमा शनिबारको सफाईमा मुख्यसचिव डा.सोमलाल सुवेदीको नेतृत्वमा पाँच सय कर्मचारीको सहभागिता रहेको थियो ।

पूर्वमुख्यसचिव लीलामणि पौडेल, सङ्घीय मामिला तथा स्थानीय विकास सचिव केदारबहादुर अधिकारी, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदी, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, खानेपानी तथा सरसफाई सचिव डा.सञ्जय शर्मालगायतका उपस्थिति रहेको थियो ।

सफाईका क्रममा मुख्यसचिव डा.सुवेदी नेतृत्वको समूहले टेकु वरपरका घर–घरमा प्रवेश गरी नदीमा फोहर नफालौँ, वागमती सफाईमा सबै सहभागी बनौँ भनी जनचेतनामूलक अभियान समेत सञ्चालन गरेका थिए ।

यसैगरी, रुद्रमती सफाईको १३२ औँ हप्तामा ज्ञानेश्वरदेखि गौशालासम्म सफाई गरी चार मेट्रि«क टन फोहर व्यवस्थापन गरिएको छ । विष्णुमती सफाईको १०८ औँ हप्तामा बालाजु पुल आसपास सफाई गरी दुई मेट्रि«क टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी बिजेन्द्र लामाले जानकारी दिए ।

त्यसैगरी, नख्खु खोला सफाई गर्दै आएको नख्खु खोला सरोकार समितिले शनिबार कार्यविनायक नगरपालिकामा जनचेतनामूलक जागरण अभियान सञ्चालन गरेको संयोजक बलु पाण्डेले बताए ।

वागमती समितिले कोटेश्वर महादेव मन्दिर आसपासको वागमती नदी किनारमा शनिबार कपुर, बेल, निमलगायत जातका १०० वटा वृक्ष रोपण गरेको छ । वृक्ष रोपणमा पूर्वमन्त्री अग्नि खरेललगायत स्थानीयबासीको सक्रियता रहेको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेश सिंहले जानकारी दिए ।

गुह्येश्वरीमाथीको वागमती नदी किनारमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, माकालबारी टोल सुधार समितिलगायतका संस्थाले सफाई गरेका छन् ।