हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

पुनःसंरचना आयोगको प्रतिवदेनमाथि पाँच राजनीतिक दलसँग छलफल

इन्फोनेपाल संवाददाता/ राजनीति - February 9, 2017

काठमाडौं, माघ २७
प्रमुख पाँच राजनीतिक दलले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनलाई चाँडो अन्तिम रूप दिएर सरकारमा सुझाव पेस गर्न गठित समितिलाई निर्देशन दिएका छन् । सिंहदरबारमा आज भएको छलफलमा पुनःसंरचना आयोगको प्रतिवेदनको सम्बन्धमा प्राप्त गुनासो अध्ययन गरी मन्त्रिपरिषद्मा सुझाव पेस गर्न गठित समितिलाई सो प्रतिवेदनलाई अन्तिम रूप दिन भनिएको हो ।

कार्यदलका संयोजक एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आयोगले दिएको प्रतिवेदनका विषयमा राजनीतिक दलसँग छलफल भएको बताएका छन् । छलफलमा पुनःसंरचनामा देखिएका समस्या र समितिले गरेका प्रगतिका विषयमा जाकारी गराइएको थियो । राजनीतिक दलका नेताले विषयवस्तु स्पष्ट भएपछि निर्वाचनमा जान सहज हुने विश्वास लिएका छन् ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका नेता, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, नेकपा एमालेका उपाध्यक्ष भीम रावल, राप्रपाका अध्यक्ष कमल थापा र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देव सहभागी थिए । समितिले प्रदेश नं २ बाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदसंग फागुन १, २ र ३ गते छलफल गरेर प्रतिवेदनमाथि सुझाव दिने तयारी गरेको छलफलमा जानकारी गराएको थियो ।

नेकपा एमालेका उपाध्यक्ष रावलले सरकार जुन रूपमा प्रस्तुत भएको छ त्यसले निर्वाचन नगर्ने हो कि भन्ने आशङ्का उत्पन्न भएको छ भने । उनले छिटोभन्दा छिटो निर्वाचनमा जाओस् भन्ने एमालेले धारणा राखेको बताएका छन् । उपाध्यक्ष रावलले भने – “बैठक चुनाव गर्न हो कि नगर्न हो ?” उनले संविधान संशोधनपछि निर्वाचनमा जाने कि संशोधन अगाडि नै जाने भन्ने विषयमा सत्तारुढ दलकै फरक मत देखिएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले समितिसँग प्रतिवेदनका सम्बन्धमा अन्तिम सुझाव मागेको बताएका छन् । उनले सरकारलाई दिएको सुझावका आधारमा सरकारले उचित निर्णय लिने बताएका छन् । प्रतिवेदनबारे प्राप्त गुनासा अध्ययन गरी सुझाव दिन संघीय मामिला तथा स्थानीय विकासमन्त्री पाण्डेको संयोजकत्वमा उद्योगमन्त्री नवीन्द्रराज जोशी र आपूर्तिमन्त्री दीपक बोहोरा सदस्य रहेको एक समिति गठन गरेको थियो । समितिलाई प्रतिवेदनबारे प्राप्त गुनासा अध्ययन गरी सुझाव पेस गर्न १५ दिनको समयसीमा दिइएको छ ।

पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता

पाल्पा, माघ २८ स्थानीय निर्वाचनमा सहभागी हुनका लागि पाल्पामा ११ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय पाल्पामा दर्ता भएका छन् । स्थानीय निर्वाचनका...