हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

पूर्वाञ्चलमा विश्व बैंकको २८ करोड अनुदान

इन्फोनेपाल संवाददाता/ आर्थिक - February 7, 2017

विराटनगर, माघ २५
कृषि तथा पशु सेवामा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वाञ्चलमा व्यावसायिक कृषि तथा व्यापार आयोजना कार्यक्रम सञ्चालन गरिएको छ ।

विश्व बैंकको अनुदानमा सञ्चालित यस कार्यक्रमका साथै पहाडी जिल्लामा सञ्चालित लघु अनुदान कार्यक्रमबाट समेत गरी रु २८ करोड भन्दा बढी रकम अनुदानको रूपमा वितरण गरिएको छ । उक्त अनुदान मार्फत किसान कृषि तथा पशु सेवातर्फ आत्मनिर्भर हुनुका साथै व्यवसायीकरण गर्नेतर्फ अग्रसर भएको देखिन्छ ।

पूर्वाञ्चलमा व्यावसायिक कृषि तथा व्यापार आयोजनामार्फत सञ्चालित १५ वटा संयुक्त आयोजना र ४४ वटा उप आयोजना सञ्चालनमा छन् । ती मध्ये सप्तरीमा ६, झापामा तीन, सिरहामा तीन, र सुनसरी, उदयपुर, र खोटाङमा एक– एकवटा आयोजना सञ्चालनमा रहेका कृषि तथा व्यापार आयोजना कार्यालय विराटनगरका प्रमुख भानुभक्त मैनालीले बताएका छन् ।

ती कार्यक्रमका माध्यमबाट किसानबीच रु १८ करोड ६८ लाख ७२ हजार विश्व बैंकको अनुदान रकम वितरण गरिएको छ । कूल रु ४९ करोड ९१ लाख ३९ हजार लागतमा सो कार्यक्रम सञ्चालनमा रहेको छ । निजीस्तरमा आयोजना सञ्चालकलाई आयोजनाको लागतको ३० प्रतिशत र समूह वा सहकारी मार्फत आयोजना सञ्चालकलाई अनुदान रकम ५० प्रतिशत दिने गरिएको छ ।

आयोजना सञ्चालकले पेस गरेका आवेदनको वस्तुस्थिति अध्ययन गरी केन्द्रबाट छनोटमा परेका संस्थालाई रु १४ लाखदेखि रु ९९ लाखसम्म अनुदान उपलब्ध गराइएको छ । निजीस्तरमा र सहकारी मार्फत सञ्चालित आयोजनाको कार्य प्रगतिको आधारमा तीन किस्तामा रकम उपलब्ध गराउने नीति अनुरूप अधिकांशलाई दुई किस्ता उपलब्ध गराइएको कार्यालयले जनाएको छ । वि.सं. २०७३ जेठ महिनादेखि प्रक्रिया सुरू भएको उक्त कार्यक्रम मार्फत छनोटमा परेका संस्था वा व्यक्तिसँग गत मंसिरमा सम्झौंता भई कार्य दू्रतगतिमा भइरहेको छ । सो आयोजनाको अवधि एक वर्ष मात्र रहेकाले आउँदो डिसेम्बर महिनामा योजना सम्पन्न हुनेछ ।

छनोटमा परेका जिल्लाका किसान वा सहकारीले खासगरी कृषि कार्यक्रम अन्तर्गत तरकारीखेती, माछाखेतीका लागि र पशुसेवातर्फ डेरी, बङ्गुरपालन, कुखुरापालनका लागि अनुदान रकम प्राप्त गरेको बताइएको छ । अनुदान रकम वितरण गरिएपछि कार्यप्रगतिको अध्ययन गर्नका लागि विश्व बैंकका प्रतिनिधि, कृषि मन्त्रालय, विभाग, राष्ट्रिय योजना आयोगका उच्च पदस्थ पदाधिकारी र कार्यालयबाट पनि पटक÷पटक अनुगमन कार्यलाई निरन्तरता दिने गरिएको आयोजना प्रमुख मैलानीले बताएका छन् ।
पूर्वाञ्चलका सोलुखम्बु, खोटाङ, सङ्खुवासभा र ओखलढुङगामा लघु अनुदान कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रम मार्फत रु नौ करोड ८५ लाख वितरण गरिएको छ । आव २०७१÷७२ देखि सुरू भएको सो कार्यक्रम अन्तर्गत किसानसँग २०६ वटा सम्झौता भएका थिए । सो कार्यक्रम मार्फत किसानलाई बढीमा रु पाँच लाखसम्म अनुदान उपलब्ध गराइएको छ । रासस

हिमालयको काठमाडौं–क्वालालम्पुर सिधा उडान सुरू

काठमाडौं, माघ २८ निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले आजदेखि काठमाडौं–क्वालालम्पुर सिधा उडान सुरू गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...

सगुनको दुई अर्ब बराबरको सेयर सर्वसाधारणलाई

काठमाडौं, माघ २७ नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल सगुन डटकमले पहिलोपटक सर्वसाधारणबाट रु दुई करोड डलर नेरु करिब दुई अर्ब बराबरको लगानी...

स्वास्थ्य केन्द्रमा उपकरण खरिदका लागि मन्त्रालयले छुट्टायो ९६ करोड

काठमाडौं, माघ २७ स्वास्थ्य मन्त्रालयले आगामी चार महिना भित्र देशभरका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक उपकरण पुग्ने जनाएको छ । सबै...