हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

राजनीतिक संस्कारमा सुधारको खाँचो

प्रशुराम अधिकारी / विचार/विश्लेषण - February 3, 2017
parshuram adhikari

शास्त्रीय रूपमा राजनीतिक चिन्तक र दार्शनिकहरूको चिन्तनको उपज हो राजनीति । व्यवहारतः यो जन कल्याणको विषय हो । पछिल्लो समय यो कल्याण भन्दा पनि जनताको हक, हित र अधिकारसँग जोडिएको छ । समयक्रममा राजनीतिक शैलीहरू परिवर्तन भएपनि सुरुदेखि अहिलेसम्म राजनीतिक केन्द्र भनेको देश र जनता नै हुन । राजनीति देश र जनताको चिन्तन गर्ने विषय हो ।

राजनीति सिद्धान्त मात्रै नभएर व्यवहारिक ज्ञान पनि हो अर्थात् दार्शनिक सिद्धान्त र व्यवहारिक ज्ञानको संगम हो राजनीति । व्यवहार विनाको राजनीतिक सिद्धान्त र सिद्धान्त विनाको राजनीतिक व्यवहार दुवै काम नलाग्ने हुन्छन् । त्यसैले राजनीतिको मूल ध्येय सिद्धान्तलाई व्यवहारिक बनाएर देश र जनतालाई युग अनुकुल डो¥याउने हुनुपर्छ । राजनीतिक माध्यमबाट समाजलाई वा जनतालाई सत्य, प्रेम र न्यायको सन्देश व्यवहारिक रुपमा दिन सक्नुपर्छ ।

राजनीति समाजको अनिवार्य शर्त हो । राजनीति जनताका लागि नभई नहुने विषय हो, त्यसैले राजनीति जनताका लागि हुनुपर्छ । राजनीति राज्यको आवश्यकता र मानवीय अस्तित्वलाई जीवित राख्न मात्र होइन मानव जीवनलाई उत्कृष्ट बनाउन हो । त्यसैले राजनीति समाजसँग र मानवसँग घनिष्ट भएर जोडिनु पर्छ । राजनीति जनताको सम्पत्ति हो । न त यो कसैको पेवा हो न त कसैको पेसा, न व्यवसाय वा धन कमाउने आधार नै हो । जनताको सेवा गर्ने संकल्प हो राजनीति । त्यसैले राजनीतिमा लाग्नु भनेको चानचुने कुरा होइन । यो त एउटा बलियो दृढ अठोट बिना सम्भव हुँदैन । राजनीति आफ्नो लागि चिन्ता गर्ने विषय नै होइन र राजनीतिमा व्यक्तिगत हार र जीतको अर्थ हुँदैन, महत्व रहँदैन ।

इमान्दारीता, नैतिकता, सामाजिक–सांस्कृतिक सर्ब–स्वीकार्यता, ज्ञान र चिन्तन तथा हक, अधिकार र भलाईको चाहाना राजनीतिका गहना हुन् । यी बिनाको राजनीतिको अर्थ रहँदैन । त्यसैले राजनीति युग अनुकुल परिवर्तन हुने विचारहरूको व्यवहारिक विज्ञान हो । पृथक दर्शन र विचारहरूको टकराव मात्रै पनि होइन राजनीति । सामूहिक र व्यक्तिगत प्रतिस्पर्धा र सफलता मात्रै पनि होइन राजनीति । त्यसैले राजनीतिक पार्टी, दल, जाति, भाषा, धर्म, र क्षेत्रमा मात्रै पनि सिमित हुनुहुन्न । समाजसँग जोडिएको हुनाले अवश्य पनि राजनीतिमा स्थानीयता हुनुपर्छ र समाजको भलाई र सकारात्मक परिवर्तनको आकांक्षा हुनुपर्छ ।
विश्व राजनीतिक दर्शनका आधारमा खास गरी दुई खेमामा विभाजित छ । साम्यवादी खेमा र पुँजीवादी खेमा । यी दुई फरक राजनीतिक दर्शनको उद्देश्य भनेको समतामूलक समाजको स्थापना नै हो । नेपालमा भएका राजनीतिक दलहरू पनि समाजवाद स्थापनाका लागि लडिरहेका छन् । फरक दर्शनबाट निर्देशित भए पनि सबै राजनीतिक दलको गन्तव्य एउटै हो र पुग्ने बाटो पनि एउटै भइरहेको छ । पूँजीवादी विचारधाराका पूँजीवाद हुँदै समाजवादमा जाने भनिरहेका छन् भने साम्यवादी विचारधाराका दलहरू पनि व्यवहारिक रूपमा पूँजीवादलाई अँगाली सकेका छन् र समाजवाद हुँदै साम्यवादमा जाने भनिरहेका छन् । समाजवाद सबैको गन्तव्य देखिन्छ । समाजवाद भनेको समतामूलक समाजको स्थापना गर्ने भन्ने नै हो । भेदभाव रहित समाज नै समाजवादको उद्देश्य हो । विश्वमा जति पनि राजनीतिक सिद्धान्त र व्यवस्थाहरू प्रचलनमा छन्, ती सबैको एउटै उद्देश्य मानव कल्याण, मानवहित, सामाजिक उत्थान र विकास नै हो । यहि उद्देश्य र लक्ष्य बोकेर विश्वका धेरै राजनीतिक विचार र दलहरूले राजनीति गरे र आफ्नो देश र समाजलाई विकसित तुल्याए, विकसित बनाइरहेका छन् । उत्तरी युरोपका स्केन्डेभियन देशहरू यसको विशिष्ट नमूना हुन । जुन देशहरू पूँजीवादका पक्षपाती हुन तीनै देशहरू समाजवादी व्यवहार गरिरहेका छन् ।

नेपाल लगायत दक्षिण एशियामा भारतीय चरित्रको राजनीतिक संस्कारको दबदबा छ । यस्तो परीपाटीबाट यहाँका जुनसुकै राजनीतिक दलहरू प्नि उम्कन सकेका छैनन् । त्यसैले नेपालले चीनियाँ राजनीतिक संस्कार वा जापानी राजनीतिक संस्कार वा युरोपेली र अमेरिकी राजनीतिक संस्कारलाई ग्रहण गर्न सकेन, सकिरहेको छैन । राजनीतिक संस्कार मात्रै पनि आफैमा दोषी हैन । त्यही राजनीतिक संस्कारकै भारत विकास र समृद्धिमा निकै अगाडि देखा परिरहेको छ तर नेपाल अझै पनि आफ्नै गतिमा छ ।

नेपालमा यतिखेर हरेक क्षेत्र राजनीतिबाट आजित छ । समाज राजनीतिबाट बिखण्डीत भइरहेको छ । फरक राजनीतिक विचार बोकेका आफ्नै दाजुभाईबीच आत्मियता छैन । फरक राजनीतिक पार्टीका दुई छिमेकी छिमेकीबीच आत्मिय सम्बन्ध छैन । यहाँ त छिमेकी भन्दा बढ्ता राजनीति हाबी छ । व्यक्तिवादी प्रवृति हावी भइरहेको छ ।

नेपाल जस्तो देशमा पनि समान राजनीतिक दर्शन बोक्ने यति धेरै राजनीतिक पार्टी नै पार्टी छन् । राजनीतिक पार्टीभित्र पनि गुटै गुट । के का लागि यति धेरै राजनीतिक दल वा पार्टी ? देश भन्दा पार्टी ठूलो, पार्टी भन्दा गुट ठूलो, गुट भन्दा व्यक्ति ठूलो यसरी नेपालमा राजनीति विकृत भइरहेको छ ।

हरेक तह तप्का र क्षेत्रमा राजनीतिक दलको आफ्नो मान्छे, प्रत्येक नौ नौ महिना पनि नटिक्ने सरकार र सरकारी निकाय र संगठनहरूमा सरकार अनुसार फेरीरहने नीति, नियम, निर्देशन, योजना र व्यक्ति । के यसरी हामी राजनीतिक स्थायित्व प्राप्त गर्न सक्छौँ । यसरी नै विकास र परिवर्तनलाई अगाडि बढाउन सक्छौ ? हामीले अंगालेको अथवा समातेको राजनीतिक दर्शनको गन्तव्य भेट्टाउन सक्छौं ? सक्दैनौं भने किन परम्परागत ढङ्गले नै राजनीतिमा फसीरहने ?

देशको राजनीतिक अस्थिरता, हरेक क्षेत्रमा बढीरहेको राजनीतिक हस्तक्षेप, राजनीतिक दलहरूमा मौलाईरहेको भ्रष्टाचार, राजनीतिज्ञहरू सर्वश्रेष्ठ हुने प्रवृत्ति, राजनीतिक दलहरूमा मौलाइरहेको गुट, उपगुट, राजनीतिले समाजका हरेक क्षेत्रको विकासमा पारेको नकरात्मक प्रभाव, आफ्नो स्वार्थमा बढी सक्रिय हुने राजनीतिज्ञहरू, राजनीतिज्ञहरूको भ्रष्ट, विलासी र तडकभडक युक्त जीवनशैली, अपराधलाई राजनीतिकरण र राजनीतिक संरक्षण गर्ने प्रचलन, बन्द हड्ताल जस्ता राजनीतिक विरोधको शैली, सरकारी निकाय र संस्थानहरूमा फैलिएको ट्रेड युनियनको दादागिरी, खर्चिलो चुनाव, समाजका साना पक्षमा पनि बढेको राजनीतिक किचलो र राजनीतिले विखण्डीत बनाइरहेको सामाजिक अवस्था आदिले गर्दा नेपालमा पछिल्लो समय जनतामा र खासगरी युवा पुस्तामा राजनीतिक वितृष्णा फैलिरहेको छ । अधिकांश युवा जमात राजनीतिबाट टाढा रहन चाहिरहेको छ । अर्थात राजनीति भनेको फोहोरी खेल हो भन्ने मात्रै बुझिरहेको छ । राजनीतिमा पस्न नै चाहिरहेको छैन । गलत काम र संस्कारलाई राजनीति भनेर बुझाइरहेको छ । जसको कारण वितृष्णा फैलिएर ठूलो जमात विदेशी रहेको छ । साथै बौद्धिक पलायनको प्रवृत्ति पनि बढीरहेको छ ।

के का लागि राजनीति गर्छन हाम्रा राजनीतिज्ञहरू ? राजनीतिमा लाग्नुको अर्थ राज्य सत्ता सम्हाल्नु र राज्यका विभिन्न अंगहरू तथा संगठनहरूमा राज गर्नु र प्रशस्त धन सम्पत्ति जम्मा गरेर बिलासी जीवन बिताउनु हो ? किन राजनीतिक व्यवहार दर्शन अनुरूप चल्दैन ? किन राजनीतिज्ञहरूको विचार र व्यवहारमा विरोधाभास देखिन्छ ? किन राजनीतिमा फरक विचारलाई निषेध गरिन्छ ? किन वर्तमान राजनीतिले सामाजिक भलाई हेरिरहेको छैन ? किन राजनीतिले सामाजिक उत्थान र विकास गरिरहेको छैन ? किन राजनीतिले समाजलाई एकतामा जोडिरहेको छैन ? किन हरेक क्षेत्रमा राजनीतिक दादागिरी हावी छ ? यस्ता कैयन सवालहरुको जवाफ खोज्नुपर्छ हाम्रा राजनीतिज्ञले र राजनीतिको परम्परागत विचारका संकुचित दायराबाट निस्कनु पर्छ । राजनीतिले समाजको भलो सोच्नुपर्छ र समाजलाई एकताबद्ध गर्न सक्नुपर्छ अनि मात्रै राजनीतिको अर्थ रहन्छ, राजनीतिमा लागेको सार्थकता रहन्छ ।

राजनीतिज्ञहरू आफैंमा नमुना, उदाहरणीय र अनुकरणीय भएर आफ्नो कर्ममा दृढ रहनुपर्छ । जसको अनुसरण अरू धेरैले गरून र एउटा असल संस्कारको विकास होस् । सामाजिक रुपान्तरण अर्थात समाजको उत्थान र विकास नै राजनीतिक दर्शन र कर्मको विजय हो । त्यसैले राजनीतिज्ञहरूले सामाजिक कल्याण र विकासका कार्यक्रमहरू चलाएर, जनतालाई आफ्नो हक अधिकार साथै देश र समाजप्रतिको कर्तव्य र दायित्वप्रति जागरूक गराएर, समाजलाई अथवा जनतालाई समुदायको सर्वाङ्गिण विकासका हरेक प्रक्रिया र क्रियाकलापमा सहभागी र चेतनशील बनाएर, जनतालाई उत्पादनमूलक क्रियाकलापमा उत्साहित गराई आर्थिक उन्नतितर्फ अग्रसर गराएर राजनीतिक संस्कार सुधार गरी राजनीतिक कर्म गर्न सकिन्छ । राजनीतिक कर्मको श्रेष्ठता र सर्वोच्चता स्थापित हुन्छ र देश र जनताको भलाई र कल्याण हुनुका साथै देश विकासको गतिमा अगाडि बढ्छ ।