हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

स्वास्थ्य केन्द्रमा औषधिको अभाव

इन्फोनेपाल संवाददाता/ स्वास्थ्य - February 2, 2017

दाङ, माघ २०
जिल्लाका दुर्गम क्षेत्रका अधिकांश स्वास्थ्य केन्द्रमा औषधिको अभाव छ । निकै विकट मानिने पश्चिम दाङको पञ्चकुले स्वास्थ्य चौकीमा सिटामोल र मेट्रोनिडाजोल बाहेक कुनै पनि औषधि नभएको स्वास्थ्य चौकी इन्चार्ज पशुपतिराज केसीले बताएका छन् । कम्तीमा ३५ प्रकारका औषधि स्वास्थ्य चौकी मार्फत निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको सरकारको दाबी छ । “कति भयो कति औषधि माग गरेको, पाँच महिना देखि यस्तै अवस्था छ, इन्चार्ज केसीले भने ।

दक्षिण दाङको विकट कोइलावास स्वास्थ्य चौकीमा पनि न्यूनतम औषधि पनि छैनन् । सामान्य जरो आएको बच्चालाई दिइने सिटामोल र कफसिरफ पनि नभएको त्यहाँका स्वास्थ्य चौकी प्रमुख पप्पु यादवले बताएका छन् । जति औषधि माग गरे पनि अझैसम्म अत्यावश्यक औषधि स्वास्थ्य चौकीमा नभएको यादवले गुनासो गरेको छ ।

नवजात शिशुलाई सामान्य जरो आएको अवस्थामा पनि सिटामोल बितरण गर्ने अवस्था नहुँदा बिरामीलाई भारतको बालारामपुर सम्म पुग्नुपर्ने बाध्यता छ । त्यस्तै पश्चिम दाङको मुख्य बजारमा रहेको पुरन्धारा स्वास्थ्य चौकीमा पनि आवश्यक औषधि नभएको स्थानीयवासीको गुनासो छ । तर स्वास्थ्य चौकीले भने केही औषधि मात्र रहेको जनाएको छ ।

हाल सो संस्थामा निःशुल्क उपलब्ध गराइनुपर्ने ३५ थरी औषधिमध्ये, बढीमा १० थरी औषधि मात्रै छन् । “माग गरेको धेरै भो, अहिले हाम्रो स्वास्थ्य चौकीका लागि आएको औषधि बाघमारेमा थन्किएको भन्ने सुनेको छु, खै कहिले आउने हो ।” त्यसैगरी स्युजामा पनि अत्यावश्यक औषधि बाहेक सरकारले निःशुल्क रुपमा उपलब्ध गराएका सबै औषधि छैनन् । यसले गाउँवासीलाई सामान्य रोगको उपचारका लागि पनि सहरी क्षेत्र जानुपर्ने बाध्यता छ । यो अवस्था करिब छ महिनादेखि देखिँदै आएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयले यसैसाता सबै स्वास्थ्य संस्थामा निःशुल्क रूपमा उपलब्ध गराउने सबै औषधि पठाइने बताएपनि स्वास्थ्य मन्त्रालयले नै सम्बन्धित निकायमा पर्याप्त औषधि पठाउन नसकेपछि मुलुकका धेरै जिल्लाका स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीमा औषधि अभावको अवस्था चरम रूपमा देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख धनश्याम पोख्रलले औषधि पठाउने काम भइरहेको र अबको एक सातामा सबै स्वास्थ्य संस्थामा औषधि पुग्ने जानकारी दिएका छन् । जिल्लाका पाँच वटा स्वास्थ्य संस्था बाहेक सबै स्वास्थ्य संस्थामा औषधि पठाइ सकिएको छ । पठाउन बाँकी रहेका स्वास्थ्य संस्थामा पनि छिट्टै नै औषधि पठाइने जनस्वास्थ्य प्रमुख पोख्रेलले बताएका छन् ।

उनले भने “औषधि पठाउने काम भइरहेको छ केही दिन नै सबै स्वास्थ्य संस्थामा औषधि पुग्ने छ ।”
अहिले पठाएको औषधि स्वास्थ्य संस्थामा करिब तीन महिना सम्म पुग्ने जनस्वास्थ्य कार्यालयको अनुमान छ । कार्यालयले हाल ३१ प्रकारको औषधि खरिद गरेको र थप औषधि खरिदका लागि फेरि ठेक्का गरिने जनाएको छ भने जिल्लामा केन्द्रबाट पाँच प्रकारका औषधि मात्र आएको जानकारी दिएको छ । रासस

हात्तीपाइले विरूद्धको औषधि फागुन तेश्रो हप्ता

काठमाडौं, माघ २४ सरकारले फागुनमा हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउन अभियान चलाउने भएको छ । अभियानमा ३० जिल्लाका एक करोड पाँच लाख जनालाई...

केन्द्रले औषधि आपूर्ति नगर्दा समस्या

सल्यान, माघ २२ सरकारले निःशुल्क रूपमा स्वास्थ्य संस्था मार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ । दुई वर्ष देखि केन्द्रबाट आपूर्ति गर्ने...

रूपन्देही पूर्ण खोपयुक्त जिल्ला घोषित

बुटवल, माघ २२ रूपन्देही जिल्ला २२ औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरूङले शुक्रबार जिल्लालाई पूर्ण खोप...