हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

दुर्गममा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित

इन्फोनेपाल संवाददाता/ स्वास्थ्य - January 22, 2017

म्याग्दी, माघ ९
म्याग्दीका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका प्राविधिक जनशक्तिको अभाव भएका छन् । चारवटा स्वास्थ्य संस्था करार दरबन्दीका स्वास्थ्यकर्मीले धानेका छन् । अधिकांश स्वास्थ्य संस्थामा प्रमुख बिहीन छन् । दरबन्दी अनुसारका प्राविधिकको पदपूर्ति नहुँदा दुर्गमका सर्वसाधारण गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नबाट वञ्चित भएको मुनाका यामबहादुर भण्डारीले बताएका छन् ।

छ जनाको दरबन्दी भएको मुना स्वास्थ्य चौकीमा हाल कार्यालय सहयोगी सहित दुईजना मात्र छन् । “एक(एकजना हेल्थ असिस्टेन्ट र अनमीसँगै दुईजना अहेबको गत महिना एकैपटक सरूवा भयो”, भण्डारीले भने – “एकजना करार अनमी र कार्यालय सहयोगीले संस्था धानेका छन् ।”

सदरमुकाम बेनीदेखि दुई दिनमा पुगिने म्याग्दीको सबैभन्दा दुर्गम गाविस गुर्जामा कार्यरत चारजना स्वास्थ्यकर्मीको अघिल्लो महिना एकैपटक सरूवा भयो । कार्यरत कर्मचारीको सरूवा भएको र नयाँ कर्मचारी नआएकाले समस्या भएको गुर्जाका बासिन्दाले बताएका छन् ।

“दुर्गम भएकाले कर्मचारी आउनै मान्दैनन्, आए पनि यहाँ पूरा समय बसेर काम गर्दैनन्”, गुर्जाका अगुवा रिद्धबहादुर छन्त्यालले भने– “तालिम, गोष्ठीको बहानामा सदरमुकाम जाने स्वास्थ्यकर्मी महिनौँसम्म उतै हराउँछन् । सर्वसाधारण आधारभूत औषधि उपचार सेवाबाट वञ्चित छन् ।”

मुना र गुर्जासँगै भुरूङ तातोपानी, पाखापानी स्वास्थ्य चौकीमा कार्यरत दरबन्दीका सबै स्थायी स्वास्थ्यकर्मी सरूवा भएपछि अहिले करारमा नियुक्त भएका कर्मचारीले धानेका छन् । पर्याप्त जनशक्ति नहुँदा भएका स्वास्थ्यकर्मीलाई कामको बोझ बढेको भगवती स्वास्थ्य चौकीका प्रमुख टीकाबहादुर शाहीले बताएका छन् ।

विभिन्न तहका ६ जनाको दरबन्दी रहेको भगवती स्वास्थ्य चौकीमा हाल दुईजना मात्र प्राविधिक छन् । बिरामीको स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण, प्रसूति केन्द्र, गाउँघर क्लिनिक र कार्यालय सञ्चालन गर्न सीमित जनशक्तिलाई समस्या भएको शाहीले बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार म्याग्दीमा रहेका ४१ वटा स्वास्थ्य संस्थामा हाल १११ जना स्वास्थ्यकर्मीको दरबन्दी रिक्त छ । २४ वटा स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट पद रिक्त छ । जिल्ला अस्पतालमा तीनजना हेल्थ असिस्टेन्ट र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा तीनजना अहेबको दरबन्दी खाली भएको अस्पतालका नायब सुब्बा रामचन्द्र रेग्मीले बताएका छन् ।

मन्त्रालय, विभाग र क्षेत्रीय निर्देशनालयले जिल्लासँग समन्वय नगरीकन केही स्वास्थ्य संस्थाका सबै कर्मचारीको सरूवा गरिदिएकाले समस्या भएको जिल्ला स्वास्थ्य प्रमुख, वरिष्ठ चिकित्सक रोशन न्यौपानले बताएका छन् । रासस

हात्तीपाइले विरूद्धको औषधि फागुन तेश्रो हप्ता

काठमाडौं, माघ २४ सरकारले फागुनमा हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउन अभियान चलाउने भएको छ । अभियानमा ३० जिल्लाका एक करोड पाँच लाख जनालाई...

केन्द्रले औषधि आपूर्ति नगर्दा समस्या

सल्यान, माघ २२ सरकारले निःशुल्क रूपमा स्वास्थ्य संस्था मार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ । दुई वर्ष देखि केन्द्रबाट आपूर्ति गर्ने...

रूपन्देही पूर्ण खोपयुक्त जिल्ला घोषित

बुटवल, माघ २२ रूपन्देही जिल्ला २२ औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरूङले शुक्रबार जिल्लालाई पूर्ण खोप...