हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

एघार मेट्रिक टन फोहर व्यवस्थापन

इन्फोनेपाल संवाददाता/ मेरो नेपाल सफा नेपाल - January 14, 2017
download (5)

काठमाडौं, माघ १
उपत्यकाका प्रमुख नदी सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको एक सय ९२ औँ हप्तामा आज सिनामङ्गलदेखि तिलगङ्गा क्षेत्रमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका समाजशास्त्री पुरुषोत्तम कँडेलले जानकारी दिएका छन् ।

सफाइमा समिति, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको संस्थागत सहभागिता थियो । सफाइको नेतृत्व पूर्व सचिव किशोर थापाले गरेका थिए ।

तिलगङ्गा महिला समूहले यस क्षेत्रमा सफाइ अभियान सुरु गरेको १०० औँ हप्ता पुगेको अवसरमा आज विशेष कार्यक्रम आयोजना गरियो । कार्यक्रममा सांसद रामेश्वर फुयाँलले बागमतीको मुहानस्थल सुन्दरीजलदेखि नै नियमित सफाइको अभियानलाई निरन्तरता दिइनुपर्ने बताएका छन् ।

रुद्रमती सफाइको एक सय ५१ औँ हप्तामा आज बूढानीलकण्ठ नगरपालिकाको भङ्गालमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता पुरुषोत्तम कोइरालाले जानकारी दिएका छन् ।

विष्णुमती सफाइको एक सय २४ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको महादेव खोलामा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइसँगै सो क्षेत्रका घर÷घर गई जनचेतना पनि फैल्याइएको अभियानकर्मी विजेन्द्र लामाले बताएका छन् ।

यसैगरी गुह्येश्वरीमाथिको बागमती नदीमा राम्रो जोरापाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाले सफाइ गरेका छन् ।