हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

नेपालको पुनःस्थापना र विकासमा चीनको ‘वान बेल्ट वान रोड’ को नीति

डा. सुमित्रा अमात्य / विचार/विश्लेषण - January 2, 2017
Sumitra amatya

प्राचिन कालदेखि नै ‘भारत, तिब्बत तथा चीन’ बीचको एक सम्पर्क माध्यमको रूपमा नेपाललाई लिइने गरिन्थ्यो । १८ औँ शताब्दी पश्चात् क्रमश : नेपालले आफ्नो महत्वपूर्ण भूमिका विभिन्न कारणहरूद्वारा गुमाउँदै गएकोे अवस्था थियो । जस्तै : ब्रिटिशहरूले भारतमा अफिम उत्पादन गरी सिक्किमको नाथुलापासको मार्ग हुँदै चीनको शो–शासित क्षेत्रसम्म आफूलाई विस्तार गरी व्यापार गर्ने गर्दथे ।

रणनीतिक रूपमा नेपाल भूपरिवेष्ठित राष्ट्र भएको कारणले उच्च व्यापार लागतको सामना गर्दै आउनुपरेको छ । तर, चीनले गरेको प्रस्ताव ‘वान बेल्ट वान रोड’ नीतिलाई कार्यान्वयन गर्न सकेको खण्डमा यसले नेपाललाई दक्षिण एशियाली राष्ट्रहरूसँगको पहँुच बढाउन मदत गर्दछ, जसको कारण नेपालको आर्थिक एकिकरण तथा दक्षिण एशियामा पुर्नजागरणका लागि लाभदायक सिद्ध हुनेछ ।

नेपाल दक्षिण–पश्चिमी रेशमी मार्ग (सिल्क रोड)को लागि एक केन्द्रविन्दु थियो तथापी यो कुनै नौलो रणनीति भने पक्कै हैन । विभिन्न संस्थाहरू जस्तै एडीबी, एडीबीआइ र इआरआइएले गरेको अध्ययन अनुसार सीमा पार कोरिडरले विशेष गरी भूपरिवेष्ठित देशहरूको आर्थिक वृद्धिका लागि फाइदाजनक हुने देखिन्छ । हाल यो राणनीति, लाओस, मङ्गोलिया, र चीनले आत्मसात् गरेको पाइन्छ ।

पश्चिम चीनको तिब्बत स्थित ल्हासा एक प्रमुख यातायात केन्द्रका रूपमा उदीयमान भइरहेको छ । हालै चीनले ल्हासालाई छेंङ्दू, सिचुवान जोड्ने गरी रेल मार्ग बनाउने घोषणा गरेको छ । भौगोलिक दृष्टिकोणबाट हेर्दा चीनीयाँ विकास तथा निर्माण केन्द्र क्रमश : नेपाल तर्फ नजिकिँदै गरेको अवस्था छ , जुन नेपालको लागि फलदायक हुने देखिन्छ ।

‘वान वेल्ट वान रोड’ को मुख्य उदेश्य क्षेत्रीय तथा महादेशीय भू–भागहरूलाई क्रमश : कूटनीतिक, व्यावसायिक तथा वित्तीय सहयोग मार्फत एशिया, अफ्रिका र युरोपलाई एकीकृत गरी सुधारात्मक पूर्वाधारको सशक्त माध्यमबाट विश्वव्यापी रूपमा अघि बढाउने योजना हो । ‘वान बेल्ट वान रोड’ भन्नाले चीनले प्रस्ताव गरेको ‘रेशमी मार्ग आर्थिक क्षेत्र’ र ‘सामुन्द्रिक रेशमी मार्ग’ लाई बुझाउँदछ । यस उदेश्यले मुख्य गरेर पाँच वटा प्रमुख क्षेत्रहरूलाई जोड्ने काम गर्दछ ः समन्वयात्मक नीति, पूर्वाधार निर्माण (रेलमार्ग तथा राजमार्ग सहित), अवरोध विनाको व्यापार, वित्तीय एकीकरण र विश्वव्यापी रूपमा छरिएर रहेका सम्पूर्ण नागरिकहरूलाई एकीकृत रूपमा सम्बन्ध स्थापित गर्दै लैजानु भन्ने बुझिन्छ ।
यी मध्ये ‘नयाँ रेशमी’ मार्गको निमित्त पूर्वाधार निर्माणलाई एक प्रभावशाली विषयको रूपमा लिइन्छ । ‘वान बेल्ट वान रोड’ नीतिले भविष्यवाणी गरे अनुसार चार खर्ब भन्दा बढी जनसङ्ख्या ओगट्ने भू–भागलाई समेट्ने काम गर्नुका साथै कुल गार्हस्थ उत्पादनको वृद्धि झण्डै तीन भागको एक भाग भएर जाने आँकलन गरिएको छ ।

“वान बेल्ट वान रोड’ को सुत्रपात सँगै आज चीन एक नौलो एतिहासिक विन्दुमा स्थापित भएको छ । चीनले यो विषयलाई विकास तथा निर्माणको लागि एक अत्यन्तै प्रभावशाली विषयको रूपमा लिएको छ, जसले निरन्तर रूपमा आर्थिक सम्बृद्धि, सामाजिक विकास, विकास निर्माणको गतिमा परिवर्तन र खुल्ला तथा गहिरो बहसलाई विश्वव्यापी रूपमा अगाडि बढाउँदै लैजाने नीतिको सुरुवात गरेको छ ।

‘वान वेल्ट वान रोड’ का लगानीकर्ता र सरोकारवालाहरू
‘वान बेल्ट वान रोड’ एक प्रशस्त वित्तीय सम्भाव्यता बोकेको परियोजना हो । यो परियोजना २०१४ फरबरी बाट चालिस अर्ब डलरको लगानीमा सुरुवात गरिएको थियो साथै यसको लगानी विशेष गरेर तिब्बतको वैदेशिक विनिमय कोषबाट प्रयोगमा ल्याइएको हो ।

‘वान बेल्ट वान रोड’ परियोजनाले विभिन्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आकर्षित गरेको छ । सिंगापुर राज्यद्वारा सञ्चालित विकासबोर्डले चीनियाँ निर्माण बैंक सँग समन्वय गरी २२ खर्ब डलरको लगानी गर्ने प्रतिबद्धता जनाएको छ । अन्तर्राष्ट्रिय पेन्सन कोष, बिमा कम्पनी, सार्वभौम सम्पत्ति कोष र नीजि साझेदारी लगानी कोषहरूले ‘वान बेल्ट वान रोड’ को परियोजनामा उच्च आर्थिक प्रतिफल अपेक्षा गरी लगानी गरेका छन् ।

चीनले केही रकम भौतिक पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरी उच्च आर्थिक प्रतिफल प्राप्त गर्नुका साथै राजनीतिक सम्बन्ध स्थापित गरिरहेको छ । द्विपक्षीय सम्बन्ध स्थापित गर्नुका साथै मुख्य गरेर दुई प्रमुख बहुपक्षीय संस्थाहरूको निर्माण गर्नु हो । यसका लागि एशियाली पूर्वाधार विकास बैङ्क तथा न्यू डेभलभमेन्ट बैङ्कले क्रमशः एक सय अर्ब डलर र पचास अर्ब डलर समान रूपमा ब्रिक्स राष्ट्रहरूद्वारा लगानी गर्ने प्रस्ताव गरेका छन् र यसका मूख्यालय क्रमश ः बेइजिङ र संघाईमा रहेका छन् । चीनले पनि सिल्क रोड कोषको स्थापना गर्दै संघाइ सहयोग संगठनका लागि यसले एक वित्तीय संयन्त्रका बारेमा छलफलको सुरुवात गरेको छ । चीन पूर्ण रूपमा विश्वस्त रहेको देखिनुका साथै यसले मध्यम बाट उच्च रफ्तारमा आफूलाई स्थापित गर्र्दै आर्थिक वृद्धि गरी प्रशस्त रोजगारीका अवसरहरूको श्रृजना गर्दछ ।

नेपाल भूमिको पुनःप्रयोग : सम्बन्ध स्थापित गराउने भूमिका
नेपाल चीनको छिमेकी राष्ट्र हुनु यस देशको लागि अत्यन्तै लाभदायक पूर्ण रहेको छ । ‘वान बेल्ट वान रोड’ को सुरुवातले एशिया, अफ्रिका र युरोपलाई एकीकृत गर्नुका साथै गहिरो कूटनीतिक, व्यावसायिक र वित्तीय सहयोगका साथ एक विश्व निर्माण गर्नका लागि सुधारिएको पूर्वाधार विकास गर्ने यसको उद्देश्य रहेको छ ।

नेपालले आर्थिक, सामाजिक, व्यापारिक र विविधिकरण जस्ता विषयहरूलाई विकास तथा विस्तार गर्न राष्ट्रिय रणनीतिक सडक सञ्जालद्वारा चीनबाट स्थापित भएको ‘वान बेल्ट वान रोड’ को अवधारणामा आफूलाई समायोजन गर्दै यसको महत्वलाई अघि बढाउन सक्दछ । परिणामस्वरूप, नेपालले चीनसँग भएको उच्च गतिको रेल निर्माण गर्ने विशेषज्ञताको लाभ लिन सक्दछ, साथै यससँग सम्बन्धित १२ हजार माइल भन्दा बढी बाटो चीन सरकारले निर्माण गरी सकेको छ । विश्वलाई जोड्न चाहिने मार्गको लम्बाइ भन्दा पनि बढी उच्च गतिको रेलको लागि चाहिने मार्ग चीनभित्रै रहेको छ । अहिले चीन अर्थात बेइजिङ उच्च गतिको रेल निर्माण गरी दक्षिणपूर्वी एशिया लगायतका मूलुकहरूलाई आफ्नो सञ्जालमा जोड्ने योजनामा छ ।

भारत र ‘वान बेल्ट वान रोड’
चीनको ‘वान बेल्ट वान रोड’ एउटा उदाहरण बन्न सक्छ, यदि यो सफल भएमा यसले आर्थिक रूपमा थोरै भन्दा थोरै लगानीमा युरोप एशिया लगायतका मूलुकहरूलाई पूर्वाधार, आर्थिक विकास र राजनीतिक संघ संस्थाहरू निर्माण गरी एकताबद्ध बनाउँदछ । दूरीको हिसाबले हेर्ने हो भने चीनबाट भारतको दूरी जति हुन्छ, त्यसको नेपालमार्फत गएमा तीन गुना छोटो हुन्छ । तैपनि नयाँ दिल्लीमा, चीन सरकारको मध्य एशिया र दक्षिण पूर्वी एशियालाई ‘वान बेल्ट वान रोड’ नीति मार्फत रेलमार्ग, राजमार्ग, पाइपलाइन, बन्दरगाहद्वारा एकीकृत गर्ने विषयमा गहन बहस हुने गर्दछ । एउटा अत्यन्तै विकसित क्षेत्रको सहयोगले भारत लगायत सम्पूर्ण राष्ट्रहरूलाई आर्थिक रूपमा सबल र सम्मुन्नत बनाउन सक्दछ ।

२१ औँ शताब्दीले एक नविन युगको थालनी गर्दै शान्ति, विकास, सहयोग र पारस्परिक हितको विषयमा अघि बढ्ने संकेत गर्दछ, जुन हामी नेपालीको लागी अत्यन्तै महत्वपूर्ण छ, जसले आर्थिक रूपमा धराशायी बनेको विश्व आर्थिक परिवेशलाई रेशमी मार्र्गको भावना मार्फत विकास तथा विस्तार गर्नुका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रूपमा देखिएका जटिलताहरूलाई पनि क्रमशः सुधार गर्दै जाने काम गर्दछ ।

हिमाल पार आर्थिक करिडोर/नेपालको आर्थिक विकास
अन्तर्राष्ट्रिय प्रशासन सुधार र विकासशील देशहरूकोे प्रतिनिधित्व गराउँदै विश्व मामिलालाई कूटनीतिक तवरबाट अघि बढाउन चीन सरकार प्रतिबद्ध रहेको छ । ‘वान बेल्ट वान रोड’ नेपालको आर्थिक विकास र रोजगार श्रृजनाका लागि एक गहन कार्य हो । यस कारण, नेपालले एउटा प्रष्ट रणनीति र कार्य योजनाको निर्माण गरी सन् २०३० सम्ममा सम्पूर्ण भू–भागहरूलाई एकताबद्ध गराउन सक्नुपर्दछ । यो योजना अन्तर्गत नेपालले भारत तथा चीन लगायत दक्षिण एशिया, मध्य एशिया र पूर्वी एशिया सम्म आफ्नो क्षेत्र विस्तार गर्न सक्नु पर्दछ । दक्षिण पश्चिम रेशमी मार्ग सँग सम्बन्ध स्थापना गर्नको निमित्त नेपाल एक महत्वपूर्ण स्थानमा रहेको थियो र फलस्वरुपः नेपालले आज पुनः उक्त क्षेत्रहरूको पुनःस्थापना गर्दै संयोजनकारी भूमिका खेल्नु यसको बाध्यता हो ।