हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

लथालिङ्ग ललितपुरका ग्रामीण क्षेत्र र सहरी क्षेत्रका सडक

सञ्चिता घिमिरे/ विचार/विश्लेषण - December 9, 2016
fHtpY3g

ललितपुर, मंसिर २४
वि.सं. २०१५ सालमा खुलेको कान्ति राजपथ अझै पूरा भइसकेको छैन । कच्ची बाटो र वर्षामा पहिरोका कारण बाटो अवरुद्ध भइरहँदा स्थानीयवासी हैरान छन् । बर्सेनि स्तरोन्नतिको काम भइरहे पनि स्थानीयवासीले सहज रुपमा आवत–जावत गर्न पाएका भने छैनन् ।

चारवर्ष पहिले सडक विस्तार सुरु भएको कलङ्की–कोटेश्वर ९ललितपुर हुँदै० सडक पूरा नहुँदा ललितपुरवासी हैरान छन् । गाडी गुड्ने सडक साँघुरो भएकाले एकातिर सडकमा नियमित ट्राफिक जाम र अर्कातिर धुँवा–धुलोले गर्दा सडक प्रयोगकर्ता हैरान भएका हुन् । गत वर्षको भूकम्प र त्यस लगत्तैको नाकाबन्दीले गर्दा सडक निर्माण एक वर्ष अझै लम्बिएको छ ।

सधैँ सडकमा काम गरेको देखिए पनि यात्रुलाई सहज नभएका ललितपुरका ग्रामीण क्षेत्र र सहरी क्षेत्रका यी दुई सडक उदाहरण मात्रै हुन् । सरकारले ग्रामीण सडकमा बर्सेनि टुक्रे बजेट उपलब्ध गराउँदा र ठूला योजनाका पनि अवधि विभिन्न कारण लम्बिँदा सडक प्रयोगकर्ता हैरान छन् । दोस्रो चौमासिकको सुरु भइसक्दा ललितपुरका कतिपय सडक ठेक्का भइसकेका छन् भने कति ठेक्काको क्रममा छन् । त्यसो त ठेकेदारका ढिलाइका कारण अघिल्ला वर्ष पूरा गरिसक्नुपर्ने सडकसमेत लथालिङ्ग छन् ।

डिभिजन सडक कार्यालय, जिविस, उपमहानगरपालिका, नगरपालिका, कान्ति राजपथ सुधार योजना, काठमाडौं चक्रपथ सुधार योजना लगायतका निकाय जिल्लामा सडकको काम गरिरहेका छन् । राजधानी काठमाडौं सँग जोडिएको जिल्ला भएपनि जिल्लामा सबै गाविसमा सडक सञ्जाल पुगेको ५ वर्ष मात्रै भएको छ । दक्षिण ललितपुरको प्युटारबाट आश्राङ हुँदै ठूला दुर्लुङ सडक जोडिएपछि सबै गाविसमा सडक सञ्जाल जोडिएको हो ।

चालु आवमा जिल्ला परिषद्बाट स्वीकृत योजनाका करिब १० वटा सडकको काम जिल्ला प्राविधिकको कार्यालयले गरिरहेको छ । केही यही वर्ष स्वीकृत योजना र केही बहुवर्षीय सडकको काम भइरहेको जिल्ला प्राविधिकको कार्यालयमा कार्यरत सब–इञ्जिनियर किशोर मोक्तानले बताएका छन् । धेरै लाभान्वित हुने सडक मात्रै होइन घर–घर पुग्ने सडक बनाउन स्थानीयवासीले माग गरिरहेका छन् । उनले भने, “घरैसम्म सडक पुग्नुपर्छ भन्ने मान्यता कम गर्नुपर्ने खाँचो छ ।”

दलचोकीबाट सङ्खु हुँदै इकुडोल पुग्ने सडक स्तरोन्नतिको काम सुरु भएको छ । नल्लुबाट चौघरे हुँदै कतुवानबेसीसम्मको ११ किलोमिटर सडक ग्राभेलको काम भइरहेको हो । चन्दनपुरबाट ठूला दुर्लुङ हुँदै आश्राङसम्मको सडक स्तरोन्नतिको स्थानीयवासीले माग गरेका छन् । मोक्तान भन्छन्, “अहिले विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम भइरहेको छ ।” दक्षिण ललितपुरमा सडक बाह्रै महिना चलाउनका लागि मोटर गुड्ने पुलको कामसमेत भइरहेको छ ।

डिभिजन सडक कार्यालय अहिले क्षेत्रीय स्तरमा सडक, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना, निर्वाचन क्षेत्र अन्तर्गतको सडक लगायतका काम अघि बढाएको छ । यीमध्ये कतिपयको ठेक्का सम्पन्न भइसकेको छ भने कतिपय ठेक्काको प्रक्रियामा रहेको इञ्जिनियर रीना साहले बताएकी छन् । क्षेत्रीय स्तरका १४ वटा सडकको यही वर्ष काम सक्ने गरेर ठेक्का भइसकेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत २५ वटा सडकको काम सुरु भएको छ । पाँचवटा रणनीतिक सडकको ठेक्का हुन बाँकी छ । साह भन्छन्, “बहुवर्षीय सडकमा पूरा नहुँदासम्म काम भइरहन्छ ।”

चक्रपथ अन्तर्गतको ललितपुरको पूरै सडक पर्ने काठमाडौं चक्रपथ सुधार योजना अन्तर्गतको काम सन् २०१७ को जनवरीसम्ममा सकिने इञ्जिनियर रमेश दृष्टिले बताएका छन् । काठमाडौँ जिल्लाको कलङ्कीबाट चक्रपथ हुँदै काठमाडौंकै कोटेश्वर जोड्ने भएपनि ललितपुरको बढी भाग यस योजनामा पर्छ । ४८ प्रतिशत काम सकिएको उनले दाबी गरे । उनले भने, “यही वर्षमा पाँच किलोमिटर सडक कालोपत्र पनि सकिनेछ ।” रासस