हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

प्रदूषणमुक्त बनाउन गुरुयोजना बनाएर काम गर्न सुझाव

इन्फोनेपाल संवाददाता/ मेरो नेपाल सफा नेपाल - December 7, 2016

बनेपा, मंसिर २२
बनेपा हुँदै बहने पुण्यमाता खोला र आसपासको क्षेत्रलाई प्रदूषणमुक्त बनाउन सरोकार भएकाले गुरुयोजना बनाएर अघि बढ्न सुझाव दिएका छन् । काठमाडौं विश्वविद्यालयको वातावरण विभागका विद्यार्थीले मङ्गलबार धुलिखेलमा आयोजना गरेको पुण्यमाता सरसफाइ छलफल कार्यक्रममा उनीहरूले सो सुझाव दिएका हुन् ।

केयुुका चार विद्यार्थीले सुरु गरेको अभियानलाई हौस्याउँदै उनीहरूले पुण्यमाता खोलाको जलाधार क्षेत्र र जीविकोपार्जन गर्ने समुदायसँग जोडेर सरसफाइ अभियानलाई अघि बढाउनुपर्ने बताएका छन् ।
सो अवसरमा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ मकाजु श्रेष्ठले धेरै वर्षपहिले पुण्यमाताको पानी खाएर पेट दुखेको समस्या समाधान भएको जानकारी दिँदै सार्वजनिक स्वार्थ गाँसिएपछि प्रभावकारी काम हुने बताए ।

पूर्वसचिव तथा प्राध्यापक किशोर थापाले पुण्यमाता परियोजनालाई संस्थागत गर्न खोजिएको उल्लेख गर्दै अनुसन्धानको क्षेत्रमा काठमाडौं विश्विद्यालयले नै काम गर्न सक्षम हुने बताए । स्थानीय विकास अधिकारी टेकराज निरौलाले वातावरण संरक्षणका लागि बजेट छुट्टाउन सकिने उल्लेख गर्दै संस्थागत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बनेपा नगरपालिकाका कार्यकारी अधिकृत महेश पराजुलीले फोहोर भएको क्षेत्रको पहिचान गुर्नुपर्नेमा जोड दिँदै अध्ययन गरेर गुरुयोजना निर्माण भएपछि सरसफाइ अभियानले मूर्त रूप लिने विचार व्यक्त गरेका छन् । पनौती नगरपालिकाका कार्यकारी अधिकृत श्याम खड्काले वातावरणमैत्री कार्यक्रमका लागि रु. २० लाख बजेट विनियोजन भएको जानकारी दिए ।

धुलिखेल नगरपालिकाका कार्यकारी अधिकृत विनोद भट्टराईले केयुका विद्यार्थीसँग साझेदारीमा वातावरणमैत्री कार्यक्रम भएको उल्लेख गदै काम गर्न बजेट अभाव नहुने तर्क गरे । केयुका विद्यार्थी प्रकाशकिरणजङ्ग थापाले नगरकोटबाट नै अनुसन्धानको काम थालिने जानकारी दिँदै करिब डेढ महिनाको अवधिमा गुरुयोजना तयार हुने बताए ।
रासस