हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

बागमती सफाइमा सफलता, पशुपतिको पानी स्नानयोग्य

इन्फोनेपाल संवाददाता/ मेरो नेपाल सफा नेपाल - November 30, 2016
bagmati-river

काठमाडौं, मंसिर १५
बागमती नदीलाई ढलमुक्त गर्ने उद्देश्यकासाथ आयोजित बागमती सफाइ अभियानको एक सय ८५ औँ सप्ताहसम्म आइपुग्दा सुन्दरीजलदेखि गुह्येश्वरी सूर्यघाट हुँदै पशुपति आर्यघाटसम्मको पानी स्नानयोग्य भएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदीको यस क्षेत्रमा देखापरेको स्वच्छतासँगै बागमती नदी र मनोहरा खोलाको मीनभवन क्षेत्रको दोभानसम्म स्नानयोग्य हुने गरी यस क्षेत्रलाई ढलमुक्त गर्दैछ ।

एकीकृत विकास समितिका सिनियर डिभिजनल इन्जिनियर योगेन्द्र चित्रकारका अनुसार चालु अर्थिक वर्षको अन्त्यसम्म बागमती र मनोहरा नदीको दोभानलाई ढलमुक्त गर्ने गरी कार्य थालिएको छ । विकास समितिको आफ्नै प्रयोगशालामा गरिएको पानी परीक्षणबाट सुन्दरीजलदेखि आर्यघाटसम्मको नदी खण्ड स्नानयोग्य पाइएको चित्रकार बताउँछन् ।

बागमती सफाइका क्रममा आठ हजार सात सय टन फोहोर नदीबाट हटाइसकिएको छ । फोहोर हटेपछि गुह्येश्वरी नदी खण्डमा माछाका भूरासमेत देखापरेको छ भने जनैपूर्णिमा, बालाचतुर्दशी लगायत ठूला पर्वमा श्रद्धालुले यहाँ स्नान गर्न थालेका छन् ।

आर्यघाटमा रहेका चिताबाट नदीमा शव जलाइएका फोहोर विसर्जन गर्न रोकिएपछि यो क्षेत्र स्वच्छ अनुभव गरिएको शव जलाउने पेसाका मजदुर नाइके चन्द्र ढकालले जानकारी दिएका छन् ।
गोरखापत्र दैनिकमा समाचार छापिएको छ ।